(१) कुनै आवश्यक पदार्थको वितरण बढाउन, कायम राख्न वा समान वितरण गराउन वा सुपथ मोलमा प्राप्त गराउन नेपाल सरकार वा प्रदेश सरकारले आवश्यक वा उचित ठहराएमा सूचित आदेशद्वारा त्यस्तो आवश्यक पदार्थको तोकिएको ठाउँमा उत्पादन, वितरण वा व्यापारलाई नियमित वा नियन्त्रण गर्न सक्नेछ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपारी त्यस्तो आदेशले देहाय बमोजिम गर्न सक्छ :–
(क) कुनै आवश्यक पदार्थको सञ्चय, वितरण, परिवहन, उत्पादन, व्यापार उपभोगलाई अनुमतिपत्र जारी गरी वा अरु किसिमबाट नियमित वा नियन्त्रण गर्न,
(ख) कुनै आवश्यक पदार्थको बिक्री गर्ने वा खरिद गर्ने मोल निर्धारण गर्न वा सूचित आदेशद्वारा तोकिएको अधिकारीको स्वीकृति बेगर कुनै आवश्यक
पदार्थको प्रचलित मोलमा बृद्धि गर्न नपाउने गरी नियन्त्रण गर्न,
(ग) सामान्यतः बिक्रीको निमित्त राखेको आवश्यक पदार्थलाई बिक्री गर्दिन भनी अड्डी लिनेलाई सो गर्न नदिन,
(घ) आवश्यक पदार्थ सञ्चय गरी राख्ने व्यक्तिलाई त्यस्तो सञ्चित पदार्थको सम्पूर्ण वा तोकिए बमोजिमको हिस्सा वा भाग नेपाल सरकार वा प्रदेश सरकार वा कुनै अधिकारी वा कुनै व्यक्ति वा वर्गलाई तोकिएको इलाकामा तोकिएको अवस्थामा बिक्री गर्न बाध्य गराउन,
(ङ) सर्वसाधारणको हितको निमित्त आवश्यक देखिएमा कुनै आवश्यक पदार्थ सम्बन्धी व्यापारिक वा आर्थिक कारोवारलाई नियमित वा निषेध गर्न,
(च) माथि उल्लिखित कुनै वा सबै कुरालाई नियमित वा निषेध गर्ने अभिप्रायले समाचार वा तथ्याङ्क सङ्कलन गर्न,
(छ) कुनै आवश्यक पदार्थ सञ्चय गर्ने, वितरण गर्ने वा व्यापार गर्ने व्यक्तिलाई तत्सम्बन्धी अभिलेख (रेकर्ड) र बहिखाताहरु दुरुस्त राख्न र त्यस किसिमका
अभिलेख (रेकर्ड) बहिखाताहरु जाँचपडतालको निमित्त पेश गर्न वा तत्सम्बन्धी समाचार विवरण दाखिल गर्न लगाउन,
(ज) कुनै अनुमतिपत्र दिंदा लाग्ने दस्तूर वा त्यस्तो अनुमतिपत्रमा उल्लिखित शर्त बन्देज पालनाको लागि तोकिएबमोजिम धरौटीको रकम दाखिला गराउने र
अनुमति पत्रको कुनै शर्त उल्लंघन भएमा धरौटी रहेको रकमको सम्पूर्ण वा केही खण्ड जफत गर्ने र सो प्रयोजनको निमित्त अधिकारी तोक्न,
(झ) कुनै प्रासङ्गिक र पूरक कुराहरुको निमित्त खास गरी गोदाम, गाडी, डुङ्गा, वायुयानभित्र प्रवेश गरी खानतलासी लिने, त्यस्तो खानतलासी लिंदा भेटिएको कुनै वस्तु जसको सम्बन्धमा आदेश उल्लङ्घन भएको वा उल्लङ्घन हुन लागेकोछ भन्ने कुरा सो खानतलासी गर्ने व्यक्तिलाई विश्वास भएमा सो वस्तु जफत गर्न,
(ञ) आदेश उल्लङ्घन गरे वापत सजाय गर्दा जफत गरिने पदार्थ तोक्न, र
(ट) यस दफासंग सम्बन्धित आवश्यक अन्य कुरा ।